- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले ढुवानीका लागि सडक प्रयोग गरेको आधारमा सवारी साधनबाट शुल्क उठाउनु अनुचित भएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मलेखुदेखि ताल्तीसम्म सञ्चालन हुने कुनै पनि सवारी साधनबाट अब शुल्क नलिइने जानकारी दिएकी छन्। यस सम्बन्धमा आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि उनले उल्लेख गरेकी छन्।
तामाङले सडक प्रयोगकै आधारमा कर असुली गर्नु न्यायोचित नभएको भन्दै यस्तो अभ्यास तत्काल बन्द गर्नुपर्ने धारणा राखेकी छन्। साथै, यदि कसैले उक्त मार्गमा सवारी शुल्क उठाएको पाइएमा कारबाही गरिने चेतावनी समेत दिएकी छन्।
उनको यो घोषणाले स्थानीय ढुवानी व्यवसायी तथा सवारी चालकहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।