- by समाचार कक्ष
- Mar 06, 2025
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।
सीआईबीका अनुसार ६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट मंगलबार राति पक्राउ गरिएको हो । प्रहरीका अनुसार मोबाइल फोन स्वीचअफ गरी फरार हुने प्रयास गरिरहेका बेला सवारी चेकजाँचका क्रममा उनी नियन्त्रणमा परेका थिए ।
सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार स्मार्ट टेलिकम प्रालिको सम्पत्ति व्यवस्थापनसँग सम्बन्धित विषयमा पाण्डेमाथि अनुसन्धान भइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नवीकरण नभएको भन्दै स्मार्ट टेलिकमको इजाजतपत्र खारेज गरेपछि कम्पनीको सम्पत्ति र प्रणाली सरकारी नियन्त्रणमा आएको थियो ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सरकारी स्वामित्वमा रहेको सम्पत्तिको व्यवस्थापन प्रक्रियामा अनियमितता गरी सरकारी हकलाई कमजोर बनाउने उद्देश्यले काम गरिएको आरोप पाण्डेमाथि लागेको छ ।
पाण्डे बैंकको लोन रिकभरी कमिटीका अध्यक्षसमेत रहेका थिए । बैंकले २०८२ असोज ३ गते सार्वजनिक गरेको लिलामी सूचनामा स्मार्ट टेलिकमको घरभाडा र विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँसमेत बोलपत्रदाताबाट असुल गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
तर, उक्त रकम उठाइसकेपछि पनि सम्बन्धित घरधनीलाई भाडा तथा विद्युत् प्राधिकरणलाई महसुल नतिरेको आरोप छ । रकम संकलन गरेर पनि सम्बन्धित निकायलाई भुक्तानी नगर्दा सरकारी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भन्दै सीआईबीले ठगी र आपराधिक विश्वासघातको अभियोगमा अनुसन्धान अघि बढाएको जनाएको छ ।