- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृतहरूले अस्पतालमै बयान लिएका छन्। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमनको आरोपमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
ओलीसँग गरिएको बयानमा अनुसन्धान अधिकृतहरूले ३५ भन्दा बढी प्रश्न सोधेका थिए। उनले भदौ २३ मा बानेश्वरमा किशोरको मृत्यु हुनेगरी लेथल हतियार प्रयोगको आदेश आफूले नदिएको र यस्तो निर्णय जिल्ला तहबाटै हुने कुरा भएको बताए।
बयान अनुसार, ओलीले भदौ २२ को राति सुरक्षा निकायसँग छलफल गरेका थिए र त्यसबेला आफूलाई ६–७ हजार जेनजी शान्तिपूर्वक भेला हुने भन्ने जानकारी दिइएको बताएका छन्। उनी भन्छन्, ‘सुरक्षा प्रमुखहरूसँग छलफलमा शान्ति–सुरक्षा मिलाउनु नै मेरो उद्देश्य थियो।’
ओलीले प्रधानमन्त्रीको भूमिकामा बल प्रयोगको अधिकार नपर्ने स्पष्ट गर्दै भनेका छन्, ‘कम क्षति हुनेगरी मात्र निर्णय हुनुपर्छ, बल प्रयोग गर्ने अधिकार जिल्ला तहको हो।’ उनले थपे, प्रधानमन्त्रीले पुलिसलाई गोली हान्न आदेश दिन नसक्ने र हिंसामा संलग्न नहुने सरकारको नीति रहेको बताए।
भदौ २३ मा बानेश्वरमा हताहती भएपछि, साँझ मन्त्रिपरिषद्को बैठक बसेर निष्पक्ष छानबिन गर्न आयोग गठन गर्ने, घाइतेको उपचार र मृतक परिवारलाई राहत दिने निर्णय गरिएको जानकारी उनले बयानमा दिएका छन्। ओलीले सरकारको तर्फबाट कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने प्राथमिकता रहेको उल्लेख गरेका छन्।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार बिहीबार राति १२ बजेतिर ओलीसँगको बयान पूरा भएको छ।