- by समाचार कक्ष
- Mar 06, 2025
२१ वैशाख, धनगढी - कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’मा रहेको एक इँटा उद्योगमा भएको दुःखद दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार न्यू इँटा उद्योगभित्र काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा भारत, उत्तरप्रदेशको बहराइच जिल्लाका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको ज्यान गएको हो।
घाइते अवस्थामा उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको थियो। अजय कुमारको सेती प्रादेशिक अस्पतालमा तथा पवन कुमारको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते भएकी छन् र उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् र उनको पहिचान खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।