- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - नेपाली कांग्रेसभित्र आन्तरिक राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन्।
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारी गरिरहेका खड्काले विशेष महाधिवेशनको विपक्षमा रहेका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै उक्त भेला आयोजना गर्न लागेका हुन्। स्रोतका अनुसार, भेला चैत १९ गतेका लागि तय गरिएको छ।
यसअघि पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरिसकेका छन्। साथै, उनले केन्द्रीय कार्यसमितिको बैठक पनि आह्वान गरेका छन्।
उक्त बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुने र दुई दिनसम्म सञ्चालन हुने बताइएको छ। बैठकमा विशेष महाधिवेशनमा सहभागी नभएका प्रदेश कार्यसमिति सभापतिहरूलाई समेत आमन्त्रण गरिएको छ।
गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेशका उद्दव थापा, मधेश प्रदेशका कृष्ण यादव, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका वीरबहादुर बलायर सहभागी भएका थिएनन्। तीमध्ये थापा, यादव र बानियाँ भने प्रतिनिधिसभा निर्वाचनपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए।
यस घटनाक्रमले नेपाली कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण थप प्रस्ट हुँदै गएको संकेत गरेको छ।