- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली कांग्रेसभित्र राजनीतिक गतिविधि तीव्र बनेको छ। पार्टी सभापति गगनकुमार थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्।
सभापति थापा उपसभापति विश्वप्रकाश शर्मासहित बुधबार बिहान खड्काको गल्फुटारस्थित निवास पुगेका थिए। करिब साढे एक घण्टा लामो उक्त भेटवार्तामा विभिन्न राजनीतिक विषयमा छलफल भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिएका छन्।
यसअघि तय गरिएको नेतात्रयबीचको भेट मंगलबार साँझ अन्तिम समयमा स्थगित भएको थियो। त्यसअघि सभापति थापाले बिहान नेता डा. शेखर कोइरालासँग समेत भेट गरेका थिए।
थापाले यसअघि पनि ६ वैशाखमा खड्कासँग एक्लै भेट गरेका थिए। यद्यपि, पछिल्ला भेटवार्तामा भएका विषयवस्तु औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।