- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १७ चैत - नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि तीव्र बनेको पृष्ठभूमिमा महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकताको आवश्यकता औंल्याएका छन्।
संस्थापनइतर समूहले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सुरु गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन्।
पौडेलले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा आन्तरिक विभाजनले पार्टीलाई कमजोर बनाउने चेतावनी दिएका छन्। ‘यस्तो प्रतिकूल अवस्थामा हामी टुक्रिनु हुँदैन,’ उनले उल्लेख गर्दै आफू केवल महामन्त्रीका रूपमा मात्र नभई एक जिम्मेवार कार्यकर्ताको हैसियतले पनि एकताको आह्वान गरिरहेको बताएका छन्।
उनले विगतका राष्ट्रिय संकटहरूमा कांग्रेस सधैं एकजुट भएर उभिएको स्मरण गर्दै त्यही एकताको बलमा ऐतिहासिक परिवर्तन सम्भव भएको उल्लेख गरेका छन्।
‘एकतामै हाम्रो शक्ति निहित छ,’ उनले भनेका छन्, ‘यसैको आधारमा हामी पुनः उज्ज्वल भविष्यतर्फ अघि बढ्न सक्छौं।’