- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । बालिकामाथि श्रमशोषण गरेको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।
उनीलाई सरकारी वकिलको कार्यालयबाट अदालतमा पेश गरिएको हो। यसअघि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति धुम्बाराहीबाट नियन्त्रणमा लिएको थियो।
शर्माको घरबाट २०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले एक बालिकाको उद्धार गरेको थियो। नाबालिकालाई घरेलु कामदारका रूपमा राखी दुर्व्यवहार गरेको आरोप लागेपछि महानगरले उक्त कदम चालेको थियो।
त्यतिबेला महानगरका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाहले पनि घटनाबारे चासो व्यक्त गरेका थिए।
घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरिएको थियो। तर, जाहेरी दर्ता भएको लामो समयसम्म पक्राउ नपरेको भन्दै प्रहरीमाथि आलोचना हुँदै आएको थियो।
यसअघि गत माघ अन्तिम साता महान्यायाधिवक्ता कार्यालयले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको भए पनि पछिल्लो घटनाक्रमसँगै अनुसन्धान प्रक्रिया पुनः अगाडि बढाइएको छ।