- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, २६ चैत - शेखर कोइरालाले नेपाली कांग्रेसभित्र चर्किएको विवाद समाधानका लागि मध्यस्थताको भूमिका लिने निर्णय गरेका छन्।
आफूनिकट नेताहरूसँग लामो छलफलपछि उनले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै सहमतिमार्फत समाधान खोज्ने निष्कर्ष निकालेका हुन्। मंगलबार करिब चार घण्टा चलेको बैठकपछि उनले दुवै पक्षसँग संवाद अघि बढाउन अलग–अलग वार्ता टोली गठन गरेका छन्।
पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग संवादका लागि मिनेन्द्र रिजाल र गोविन्द पोखरेल लाई जिम्मेवारी दिइएको छ। त्यस्तै, संस्थापन पक्षसँग वार्ता गर्न जीवन परियार र बद्री पाण्डे लाई खटाइएको एक नेताले जानकारी दिएका छन्।
पार्टीभित्रको विवाद गहिरिँदै जाँदा देउवा समूहले गगन थापा लाई सभापतिका रूपमा अस्वीकार गर्दै समानान्तर गतिविधि अघि बढाएको छ। यता संस्थापन पक्ष भने १५औँ महाधिवेशनको तयारीमा केन्द्रित रहेको छ।