- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - असन क्षेत्रमा स्थानीय सांस्कृतिक र व्यापारिक गतिविधिलाई प्रोत्साहन गर्न वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरिने भएको छ। यसअघि कार्यक्रम चैत २८ गतेबाट सुरु गर्ने तयारी थियो, तर तयारीलाई मजबुत बनाउन एक हप्ता पछि सारिएको हो।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल को अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्ले, सरोकारवाला कार्यालयका अधिकारी र स्थानीय संघ–संस्था, क्लब तथा समुदायका प्रतिनिधि सहभागी थिए।
कार्यवाहक प्रमुख डङ्गोलले असनको प्राचीन सांस्कृतिक महत्व संरक्षण गर्नुको साथै सामाजिक र धार्मिक गतिविधि सहज रूपमा सञ्चालन गर्न कार्यक्रम सञ्चालन गरिने बताए। उनले भने, “स्थानीय अपनत्वमा कार्यक्रमलाई दिगो बनाऔं र आवागमन तथा सुरक्षा सुनिश्चित गरौं।”
वडाध्यक्ष खड्गीले कार्यक्रमले असनको मौलिकता जोगाउने, वायु प्रदूषण नियन्त्रण गर्ने र सहरी वातावरण सुधारमा योगदान गर्ने बताए।
यस क्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलले यातायात व्यवस्थापन, पैदल मार्ग र सुरक्षा सुनिश्चित गर्न सक्रिय भूमिका खेल्नेछन्।
‘भेहिकल-फ्री असन’ कार्यक्रमअन्तर्गत वडा नं. २७ क्षेत्रको वडा कमलाक्षी चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्धदेखि असनसम्म सवारी साधन प्रवेशमा रोक लगाइनेछ। वैकल्पिक मार्गमार्फत गन्तव्यसम्म सवारी साधन चलाउन सकिने व्यवस्था गरिएको छ।
यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गर्दै स्थानीय परम्परागत व्यवसाय प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम र सामाजिक गतिविधि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। प्रमुख सञ्चालन र सुरक्षा व्यवस्थापनको जिम्मेवारी महानगर प्रहरी बललाई दिइएको छ।