Wednesday, April 22, 2026

कांग्रेस महाधिवेशन एकतामै जाने तयारीमा : गगन थापाको संकेत, सरकारलाई ‘न्यायिक छानबिन’को दबाब


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी एकताबद्ध भएर आगामी १५औँ महाधिवेशनमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र व्यापक सहमति निर्माणको प्रयास भइरहेको बताए।

थापाका अनुसार सबै नेताहरूसँग निरन्तर संवाद भइरहेको छ र पार्टीलाई साझा समझदारीका साथ महाधिवेशनतर्फ अघि बढाउने प्रयास जारी छ। उनले भने, पार्टीभित्र एकताको वातावरण बनाउँदै सबैलाई साथमा लिएर अघि बढ्ने तयारी भइरहेको छ।

सरकारप्रति धारणा राख्दै उनले संविधान कार्यान्वयन, सुशासन र जनहितका विषयमा कांग्रेसले समर्थन जनाउने तर आवश्यक पर्दा तथ्यमा आधारित प्रश्न पनि उठाउने स्पष्ट पारे। उनका अनुसार जहाँ सरकार असफल हुन्छ, त्यहाँ कांग्रेस दृढ रूपमा उभिनेछ।

भदौ २४ को घटनाबारे उनले तत्काल न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने अडान दोहोर्‍याए। साथै, राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्ने भन्दै मनपरी निर्णय र कानुन उल्लंघनले लोकतन्त्र कमजोर पार्ने चेतावनी दिए।

थापाले सरकारलाई विधिको शासन र लोकतान्त्रिक मूल्यमा गम्भीर हुन आग्रह गर्दै आवश्यक परे सुधारका लागि पार्टीले सुझावसहित दबाब दिने बताए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like