Monday, March 2, 2026

कांग्रेस एकताबद्ध, गठबन्धनको सम्भावना अस्वीकार: अमर्यादित अभिव्यक्तिप्रति सचेत रहन कार्यकर्तालाई निर्देशन


काठमाडौं - नेपाली कांग्रेसले पार्टीभित्र देखिएको आन्तरिक विवाद अन्त्य भइसकेको स्पष्ट पार्दै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने जनाएको छ। पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने र १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार मैदानमा उतारिसकेको जानकारी दिए।

प्रवक्ता चालिसेले नयाँ नेतृत्व आएपछि पार्टीप्रति आकर्षण बढेको दाबी गर्दै अन्य दलबाट प्रवेश गर्ने तथा लामो समय निष्क्रिय रहेका कार्यकर्ताहरू पुनः सक्रिय हुँदै पार्टीमा फर्किन थालेको बताए। उनले कांग्रेस दृढतापूर्वक चुनावी प्रचारमा लागिसकेको उल्लेख गरे।

यसैक्रममा उनले सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चहरूमा विपक्षी दल र नेताहरूविरुद्ध अमर्यादित, घृणास्पद टिप्पणी नगर्न कार्यकर्ता तथा समर्थकहरूलाई आग्रह गरे। यस्ता अभिव्यक्तिले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरणमा नकारात्मक असर पर्ने भन्दै कांग्रेस यसप्रति सचेत रहेको बताए।

प्रवक्ता चालिसेले केही दलले चुनावी गतिविधिमा बालबालिका प्रयोग गरेको भन्ने सूचना आफूहरूलाई प्राप्त भएको उल्लेख गर्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए। साथै, अधिनायकवाद सधैं मिठा र चिप्ला भाषणमार्फत आउने चेतावनी दिँदै ‘नयाँ’ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like