- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिस्ट तथा वामपन्थी दलबीच एकता गर्दै देशमा एउटै कम्युनिस्ट पार्टी बनाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका छन्।
उनको प्रस्ताव हिजोदेखि पेरिसडाँडामा जारी पार्टीको कार्य संयोजन समिति बैठकमा लिखित रूपमा पेश गरिएको हो। प्रस्तावमा खनालले सबै कम्युनिस्ट समूहहरूलाई मित्र संगठनको रूपमा मान्यता दिन, मतभिन्नताबारे मैत्रीपूर्ण बहस गर्न र मिलनका बिन्दुहरू बढाउँदै अन्ततः एकताबद्ध हुने दृष्टिकोण अपनाउन सुझाव दिएका छन्।
खनालले पार्टी र नेताहरूको कार्यशैलीमा सुधारको आवश्यकता औँल्याउँदै गत प्रतिनिधि सभा निर्वाचनमा पार्टीले हार व्यहोर्नुका कारण पनि स्पष्ट पारेका छन्। उनले भनेका छन् कि एकता घोषणापछि तीन महिनाभित्र प्रभावकारी कमिटी प्रणाली र जनसङ्गठन परिचालन नभएको, चुनावी अभियान स्पष्ट नभएको र पार्टीले सही रणनीति अपनाउन नसकेको कारण पार्टीले १६४ क्षेत्रमा उम्मेदवार दिँदा मात्र ८ सीट जितेको हो।
उनले यस पटकको निर्वाचनमा सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र एआईको प्रयोगले मतदाताको मनोवृत्तिमा ठूलो प्रभाव पारेको बताए। मतदाताहरूले उम्मेदवारको भाषण, घोषणापत्र वा एजेन्डा हेर्न कम र घण्टी चिन्हप्रति आकर्षित भएर मात्र मतदान गरेको उनले बताएका छन्।
खनालले एमालेले एक्लै बहुमत ल्याउने प्रयास गर्दा ९ सीट मात्र जितेको, नेपाली कांग्रेसले १८ सीट मात्र जितेको र अन्य वामपन्थी समूहहरूले कम सफलता पाएको पनि औँल्याएका छन्। उनले देशभरका वामपन्थीहरूलाई सशक्त र एकीकृत क्रान्तिकारी दृष्टिकोणबाट अघि बढ्न आह्वान गरेका छन्।