- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष सरोज सिटौलाले यातायात क्षेत्रमा जोर–बिजोर प्रणाली लागू गर्ने विषयमा कुनै औपचारिक छलफल वा बैठक नभएको स्पष्ट पारेका छन्।
विभिन्न सञ्चारमाध्यममा यातायात व्यवस्था विभागले जोर–बिजोर प्रणालीबारे छलफल गर्न बैठक बोलाएको भन्ने समाचार सार्वजनिक भए पनि ती तथ्यहीन रहेको उनले बताए। सिटौलाका अनुसार विभागका महानिर्देशकसँग प्रत्यक्ष कुराकानी गर्दा पनि त्यस्तो कुनै बैठक तय नभएको पुष्टि भएको छ।
उनले इन्धनको मूल्य निरन्तर बढिरहेको र नेपाल आयल निगमको अवस्था चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा यदि सरकार बाध्य भएर जोर–बिजोर प्रणाली लागू गर्नुपर्ने अवस्था आएमा सर्वप्रथम निजी (रातो प्लेट) सवारी साधन र दुईपाङ्ग्रेमा लागू गर्नुपर्ने धारणा राखे।
सार्वजनिक सवारी साधनमा यस्तो व्यवस्था लागू गर्दा यात्रुहरू थप समस्यामा पर्ने भएकाले समाधान नहुने उनको तर्क छ। ‘निजी गाडीहरू प्रायः विलासिताका साधन हुन्, जसमा एक जना मात्रै चढेर हिँड्दा धेरै सिट खाली हुन्छन्, त्यसैले इन्धन बचतका लागि पहिले त्यही क्षेत्रमा लागू गर्नुपर्छ,’ उनले उल्लेख गरे।
सिटौलाले पटक–पटक इन्धनको मूल्य वृद्धि हुँदा पनि सरकारले सार्वजनिक यातायात भाडा समायोजनमा चासो नदेखाएको गुनासो गरे। साथै, यातायात व्यवसायीका समस्या सम्बन्धित मन्त्रालयमा थन्किएको अवस्थामा बिना छलफल जोर–बिजोरको चर्चा चलाइएकोमा उनले असन्तुष्टि व्यक्त गरे।
विगतमा सामान्य स्तरको छलफल भए पनि हाल तत्काल कुनै निर्णय नभएको भन्दै उनले सर्वसाधारण र व्यवसायीलाई भ्रममा नपर्न आग्रह गरेका छन्।