Monday, March 2, 2026

जेनजी शहीद परिवारका लागि सरकारको ठूलो राहत: झण्डै १२ करोड रुपैयाँ अनुदान स्वीकृत


काठमाडौं, २० माघ - सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएर शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई झण्डै १२ करोड रुपैयाँ बराबरको अनुदान वितरण गर्ने तयारी गरेको छ। जेनजी शहीद परिवारको हितका लागि स्थापना गरिएको ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ मार्फत ११ करोड ९० लाख २८ हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव अर्थ मन्त्रालयमा पेस भइसकेको छ।

पुस २१ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजमार्फत शहीद परिवारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार, सोमबार शहीद परिवारलाई वितरण गरिने रकम र कार्यक्रमको विस्तृत खाका अर्थ मन्त्रालयमा बुझाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार सुरुमा प्रचलित कानुनअनुसार सुविधा दिने निर्णय भए पनि, जेनजी आन्दोलनमा सहभागी पक्षले जीवन निर्वाह भत्ता नियमित तलबसरह मासिक रूपमा दिनुपर्ने माग गरेपछि मन्त्रिपरिषद्ले अनुदानको स्वरूपमा रकम वितरण गर्ने नयाँ निर्णय गरेको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४२ जनालाई सरकारले औपचारिक रूपमा शहीद घोषणा गरेको छ।

शहीद घोषणा गरिएका परिवारलाई आगामी १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँका दरले रकम उपलब्ध गराइने तयारी छ। साथै, वार्षिक चाडपर्व भत्तासहित १३ महिनाको सुविधा प्रदान गरिनेछ। मन्त्रालयका अनुसार ४२ शहीद परिवारलाई उक्त दरमा १३ महिनासम्म भत्ता उपलब्ध गराउँदा कुल रकम ११ करोड ९० लाख २८ हजार रुपैयाँ पुग्नेछ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like