Thursday, April 16, 2026

होर्मुज जलडमरु खुलाउन सहयोग नगरे नेटोको भविष्य जोखिममा पर्ने ट्रम्पको चेतावनी


२ चैत, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलडमरु पुनः सञ्चालनमा ल्याउन सहयोग नगरे उत्तर एटलान्टिक सन्धि संगठनको भविष्य गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।

बेलायती आर्थिक पत्रिका फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले होर्मुज जलडमरु खुलाउन अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै युरोपेली देशहरूबाट अपेक्षित प्रतिक्रिया नआए यसले उत्तर एटलान्टिक सन्धि संगठनको भविष्यका लागि अत्यन्तै नकारात्मक परिणाम ल्याउन सक्ने बताएका हुन्।

यसअघि ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई होर्मुज जलडमरु खुलाउन भइरहेका संयुक्त प्रयासमा सहभागी हुन आग्रह गरेका थिए।

उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग बेइजिङमा हुने तय भएको आगामी भेटवार्ताअघि नै चीनले जलडमरु सञ्चालनमा ल्याउन सहयोग गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

ट्रम्पका अनुसार चीनलाई आवश्यक पर्ने करिब ९० प्रतिशत तेल यही जलडमरुबाट आपूर्ति हुन्छ।

ट्रम्प र सि चिनफिङबीच चैतको अन्त्यतिर बेइजिङमा भेटवार्ता हुने तय भएको छ। तर ट्रम्पले त्यसअघि नै चीनले जलडमरु खुलाउन पहल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यस्तै उनले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने संकेत पनि दिएका छन्। यद्यपि यसबारे स्पष्ट विवरण भने सार्वजनिक गरिएको छैन।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like