- by समाचार कक्ष
- Mar 06, 2025
इरान र अमेरिका बीचको तनाव झन् चर्किँदै गएको छ। इरानले अमेरिकामाथि विश्वास गर्न नसकिने भन्दै रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज स्ट्रेट पुनः बन्द गरेको छ र आफ्ना जहाजहरूलाई अवरोध गरिएमा अन्य देशका जहाजलाई पनि आवागमन गर्न नदिने चेतावनी दिएको छ।
शनिबार इरानले उक्त जलडमरू पुनः बन्द गर्नुका साथै एक भारतीय जहाजमाथि गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ, जसले विश्वव्यापी आपूर्ति प्रणालीमा थप अस्थिरता निम्त्याउने संकेत दिएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाको नाकाबन्दीलाई गलत ठहर गर्दै परिस्थिति जुनसुकै बेला बिग्रन सक्ने बताएका छन्। उनले होर्मुज क्षेत्रमा राखिएका बारुदी सुरुङ हटाइए त्यसलाई युद्धविराम उल्लङ्घन मानेर कडा प्रतिक्रिया दिइने चेतावनी दिएका छन्। साथै, उनले अमेरिका सैन्य रूपमा शक्तिशाली भए पनि रणनीतिक हिसाबले इरानभन्दा कमजोर रहेको आरोप लगाए।
अमेरिकी गुप्तचर निकाय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ठूलो द्वन्द्वका बाबजुद इरानको सैन्य क्षमता अझै बलियो रहेको छ। इरानसँग उल्लेखनीय मात्रामा ब्यालेस्टिक मिसाइल, लन्चर र ड्रोन भण्डार बाँकी रहेको जनाइएको छ।
होर्मुज स्ट्रेट बन्द भएपछि यसको प्रत्यक्ष असर बङ्गलादेशजस्ता इन्धन आयातमा निर्भर मुलुकहरूमा देखिएको छ। त्यहाँ इन्धन अभाव गहिरिँदै गएको छ भने पेट्रोल पम्पहरूमा लामो लाइन लाग्ने क्रम जारी छ। यसैबीच, अमेरिका विश्व बजार स्थिर राख्न आफ्नो आपत्कालीन भण्डारबाट ठूलो परिमाणमा तेल उपलब्ध गराउन बाध्य भएको छ।
यता, सम्भावित वार्ताबारे अन्योल बढेको छ। इरानले स्पष्ट सर्त र ढाँचा तय नभएसम्म अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने जनाएको छ। साथै, प्रशोधित युरेनियम अमेरिकालाई नदिने अडान दोहोर्याएको छ।
इरानभित्रै पनि सम्भावित सम्झौताविरुद्ध विरोध चर्किएको छ। रिभोलुसनरी गार्ड्स र सरकार समर्थकहरूले अमेरिकासँग बिना सर्त सम्झौता नगर्न दबाब दिइरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानमाथिको नाकाबन्दी जारी रहने तर सम्झौता नजिक पुगेको दाबी गरेका छन्। उनले इजरायललाई विश्वसनीय सहयोगी भन्दै प्रशंसा गरेका छन्। तर, पूर्व उपराष्ट्रपति कमला ह्यारिसले भने इजरायली नेतृत्वले अमेरिकालाई अनावश्यक युद्धमा तानेको आरोप लगाउँदै यसको आलोचना गरेकी छन्।