- by समाचार कक्ष
- Mar 06, 2025
२८ माघ, हुम्ला । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उत्तरी हुम्लाको सडक सम्पर्क अवरुद्ध भएको छ। लगातार परेको हिमपातले नारा लेक (नाम्खा गाउँपालिका-५) र न्यालु लेक (नाम्खा गाउँपालिका-६) क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको स्थानीयहरूले बताएका छन्।
स्थानीयवासीका अनुसार तत्कालै सडक खुल्ने अवस्था छैन। यसले नजिकिँदै गरेको निर्वाचनमा असर पार्न सक्ने चिन्ता बढाएको छ। नाम्खाका लिमी, तिल, जाङ र हल्जी गाउँका अधिकाश मतदाताहरू जिल्लाबाहिर रहेका कारण मतदान प्रभावित हुन सक्ने सम्भावना रहेको छ।
हिल्सा नाकामा तापक्रम माइनस २२ डिग्री सेल्सियससम्म झरेको छ। यसका कारण जाडो बढेको र यातायातमा थप कठिनाइ भएको हिल्सास्थित सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी)ले जनाएको छ। बीओपी हिल्साका इन्चार्ज कृष्ण दाहालका अनुसार हिमपातका कारण ८ र ९ नम्बर पिलरसम्म पुग्नसमेत अनुगमनमा कठिनाइ भइरहेको छ। नारा लेक क्षेत्रमा तीनदेखि चार फिट हिउँ जमेको दाहालले बताए।
नाम्खा गाउँपालिका-६, लिमीका ६७२ मतदाता भएका तीनवटा मतदानस्थलका अधिकाश मतदाताहरू काठमाडौं, दिल्ली लगायतका ठाउँमा रहेका कारण मतदानमा असर पर्न सक्ने वडाध्यक्ष पाल्जोर तामाङले बताए। उनले सरकारसँग नारा र न्यालु लेकको हिउँ पन्छाउने पहल गर्न आग्रह गरे।