- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालसम्म २५ वटा राजनीतिक घटकलाई एकताबद्ध गराइसकेको दाबी गर्दै आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने सम्भावना बलियो बन्दै गएको बताएका छन्।
नेकपा निर्वाचन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशका अधिकांश क्षेत्रमा नेकपाको पक्षमा चुनावी वातावरण अनुकूल बन्दै गएको उल्लेख गरे। उनले नेकपाले स्पष्ट विचार, सिद्धान्त र एजेन्डाका आधारमा जनसमर्थन विस्तार गरिरहेको बताए।
प्रचण्डले नयाँ दलहरूको दाबीप्रति लक्षित गर्दै विचार र एजेन्डा विना आफूलाई ‘नयाँ’ भन्नु अर्थहीन हुने टिप्पणी गरे। “नयाँ र पुरानोको निर्णय विचार र मुद्दाले गर्छ,” उनले भने, “गणतन्त्रभन्दा नयाँ विचार देशमा कसैले ल्याएको छ ? सबैलाई पहिचान र अधिकार दिने भन्दा नयाँ नारा के छ ?”
उनले आफूहरूलाई पुरानो कित्तामा राख्ने प्रयास भइरहे पनि वास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा नयाँ एजेन्डा ल्याउन नसक्नेहरू नै पुरानो सोचको प्रतिनिधि भएको जिकिर गरे।
प्रचण्डले उदार र दलाल पूँजीवादलाई प्रोत्साहन गर्दै ‘नयाँ’ को धाक लगाउने प्रवृत्तिप्रति कटाक्ष गर्दै नेकपा नै गणतन्त्र र संघीयताको वास्तविक प्रतिनिधि र सबैभन्दा नयाँ शक्ति भएको दाबी गरे। उनले आत्मविश्वासका साथ अब देशको नेतृत्व नेकपाले गर्ने तयारीमा रहेको स्पष्ट पारे।