- by समाचार कक्ष
- Mar 06, 2025
पोखरा - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र जनविश्वासको संकटमा रहेको अवस्थामा बलियो र जिम्मेवार नेतृत्वको आवश्यकता औँल्याएका छन्। कांग्रेस कास्कीको सभामा सम्बोधन गर्दै उनले देशलाई उत्तेजित गर्नु भन्दा धैर्यपूर्वक समाधान दिने पक्षमा पार्टीले भूमिका खेल्नुपर्ने बताएका छन्।
थापाले नागरिकमा गहिरो असन्तुष्टि र राज्यका संस्थाप्रति चरम अविश्वास रहेको उल्लेख गर्दै भने, “आगो कसैले पनि लगाउन सक्छ, तर निभाउन धैर्यता र क्षमता चाहिन्छ। त्यसको शक्ति नेपाली कांग्रेसले राख्नुपर्छ।” उनले आगामी दिनमा सुधारमार्फतै जनतालाई जवाफ दिनुपर्नेमा जोड दिएका छन्।
सभापति थापाले मुलुकमा देखिएको निराशाको मुख्य कारण भ्रष्टाचार रहेको बताए। “नेपाली नागरिकलाई देशको सबैभन्दा ठूलो शत्रु को हो भनेर सोध्दा उनीहरूको जवाफ ‘भ्रष्टाचार’ नै आउँछ। नेपाली कांग्रेस भ्रष्टाचारविरुद्धको सबैभन्दा ठुलो योद्धा बनेर फर्किएको छ,” उनले भने। उनले जोड दिए कि पार्टीले हिजो हिंसाबाट मुलुकलाई बाहिर निकाले जस्तै आज भ्रष्टाचारको अँध्यारोबाट मुलुकलाई बाहिर निकाल्ने संकल्प गरेको छ।
थापाले पार्टीका नेता र कार्यकर्ताहरूलाई घरदैलोमा गएर जनतालाई सन्देश पुर्याउन आग्रह गर्दै भने, कांग्रेस देश सम्हाल्न र सुधार ल्याउन तयार रहेको छ।