- by समाचार कक्ष
- Mar 06, 2025
२२ वैशाख, जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीभित्रै समर्थनबारे मतभेद देखिएको छ। बहुमत प्रदेश सांसदहरूले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखसमक्ष बुझाएको करिब १२ घण्टापछि संसदीय दलका नेता महेश प्रसाद यादवले भने समर्थन अझै कायम रहेको बताएका छन्।
संसदीय दलका नेता यादवले प्रदेश प्रमुखको कार्यालयलाई औपचारिक पत्र पठाउँदै आफू नै दलको वैधानिक नेता रहेको र आफ्नो जानकारी तथा आह्वानबिना बसेको बैठकका निर्णयहरू मान्य नहुने स्पष्ट पारेका छन्। त्यसैले मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको वर्तमान सरकारप्रति जनमत पार्टीको समर्थन जारी रहेको उनले उल्लेख गरेका छन्।
यसअघि सोमबार राति जनमतका प्रमुख सचेतक चन्दन सिंहले प्रदेश प्रमुखलाई पत्र पठाएर सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका थिए। यस घटनाले पार्टीभित्र आन्तरिक असमझदारी सतहमा आएको संकेत गरेको छ।