- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई भोट नदिई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ मतदान गर्ने नेता–कार्यकर्ताको खोजी सुरु गरेको छ। त्यस्ता व्यक्तिहरूमाथि कडा कारबाही गरिने चेतावनी पार्टी नेतृत्वले दिएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित जनवर्गीय संगठनका नेताहरूको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले केन्द्रीय सदस्यस्तरबाटै पार्टीविरुद्ध मतदान भएको प्रारम्भिक रिपोर्ट आएको बताए। उनका अनुसार करिब ५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा गएको संकेत प्राप्त भएको छ।
प्रचण्डले केन्द्रीय, प्रदेश तथा जनवर्गीय संगठनका नेताहरूलाई आफ्नो क्षेत्रमा को–को सक्रिय भएनन्, कसले पार्टीलाई भोट हालेनन् र कसले ‘घण्टी’मा मतदान गरे भन्ने विस्तृत विवरण बुझाउन निर्देशन दिएका छन्। “त्यस्ता व्यक्तिलाई कारबाही नगरेसम्म पार्टी सुदृढ हुन सक्दैन,” उनले भने।
उनले कारबाही प्रक्रिया केन्द्रीय सदस्यबाटै सुरु गरिने स्पष्ट पार्दै दोषी देखिएकामाथि “आँखा चिम्लेर” कदम चालिने बताए। साथै, यही प्रक्रियाबाट पार्टी पुनर्गठनको काम अघि बढाइने उनको भनाइ छ।
निर्वाचनपछिको समीक्षाका लागि पार्टीले तल्लो कमिटीहरूलाई सर्कुलर जारी गर्दै रिपोर्ट माग गरेको छ। हाल ती रिपोर्टहरू संकलन भइरहेका छन्। प्रारम्भिक निष्कर्षहरूमा आफ्नै संगठित मत नपाउँदा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको उल्लेख गरिएको छ।
उक्त निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गर्दै १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी भने ८ सिटमा सीमित भएको थियो। प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भए पनि सहसंयोजक माधवकुमार नेपाल भने आफ्नै गृहजिल्ला रौतहटबाट पराजित भएका थिए।
प्रचण्डले पार्टीभित्र अनुशासन, संगठन सुदृढीकरण र वैचारिक स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै अबको ध्यान पुनर्गठन र आन्तरिक शुद्धीकरणमा केन्द्रित हुने बताएका छन्।