- by समाचार कक्ष
- Mar 06, 2025
९ माघ, काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर-२ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तालमेलको प्रस्ताव गरे पनि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले उक्त प्रस्ताव अस्वीकार गरेका छन्। न्यौपानेले चुनावी प्रक्रिया धेरै अगाडि बढिसकेको भन्दै आफू उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पारेका छन्।
२०७४ सालको निर्वाचनमा डा. भट्टराई गोरखा-२ बाट निर्वाचित भएका थिए। तर २०७९ को चुनावमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त क्षेत्र छाडेका थिए। यसपटक भने प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बनेपछि गोरखा–२ मा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाइएको छ।
हालको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट बाबुराम भट्टराई र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट लेखनाथ न्यौपाने आमनेसामने भएका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका चक्रे मिलन र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी पनि प्रतिस्पर्धामा छन्।
निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने प्रयासस्वरूप डा. भट्टराईले काठमाडौंमा आएर पार्टी संयोजक प्रचण्डसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ। भेटमा बाबुरामले लेखनाथको उम्मेदवारी फिर्ता गराएर आफूलाई सहयोग गर्न आग्रह गरेको बताइन्छ। तर उक्त भेटमा प्रचण्डले दिएको जवाफ सार्वजनिक भएको छैन।
यता, चुनाव प्रचारमा सक्रिय लेखनाथ न्यौपानेले उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्याएका छन्। उनले भने, “परिस्थिति धेरै अगाडि बढिसकेको छ। यो अवस्थामा पछि हट्नु पार्टीका लागि नै हानिकारक हुन्छ।”
न्यौपानेका अनुसार मनोनयन दर्ताअघि नै बाबुराम भट्टराईसँग छलफल भएको थियो। आफूले अवसर नपाएको उम्मेदवारका रूपमा सहयोग माग्दा बाबुरामले अघि बढ्न सुझाएको र त्यसपछि मनोनयन दर्ता गरिएको उनको दाबी छ। “अब उम्मेदवारी फिर्ता हुने कुनै सम्भावना छैन,” उनले भने।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते मनोनयन दर्ता गराएका उम्मेदवारका लागि आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो। त्यसपछि उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गरिनेछ।
यसैबीच, प्रगतिशील लोकतान्त्रिक पार्टीकी नेता तथा बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले बाबुरामलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास भइरहेको जानकारी दिएकी छन्। राष्ट्रिय स्तरको व्यक्तित्व भएकाले सबै पक्षसँग छलफल भइरहेको भए पनि हालसम्म ठोस प्रगति नदेखिएको उनको भनाइ छ।