- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भयो।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रनमा सीमित रहनुपर्यो। अन्तिमसम्म आशा जगाए पनि कप्तान रुबिना क्षेत्रीले अविजित ३७ रन र सीता रानामगरले अविजित २७ रन जोड्दा पनि टोलीलाई जित दिलाउन सकेनन्। नेदरल्यान्ड्सकी इसाबेल भान डर वोनिङले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। टोलीका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रनको योगदान दिइन्। नेपालतर्फ रुबिना क्षेत्रीले बलिङमा प्रभावशाली प्रदर्शन गर्दै २ विकेट हात पारिन्।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।