- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफू चुनाव लड्ने क्षेत्र खोज्दै सर्लाही आएको आरोप अस्वीकार गरेका छन्। सर्लाही–४ अन्तर्गत विष्णु गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं-४ मा आफू नजाँदासम्म नेकपा एमालेको कुनै उम्मेदवार नटुंगिएको दाबी गरे।
थापाले रास्वपालाई लक्षित गर्दै उम्मेदवारको अभावमा बाहिरबाट व्यक्ति ल्याएर प्रतिस्पर्धामा उतारिएको टिप्पणी गरे। उनले भने, यसपटक कांग्रेस मात्र होइन, नयाँ–पुराना सबै दलहरूभित्र नेतृत्व चयनपछि असन्तुष्टि र विद्रोह देखिएको छ, जसका कारण काठमाडौंमै उम्मेदवार बन्ने दवाव थियो।
आफू काठमाडौं-४ का मतदाताप्रति सधैं ऋणी रहेको उल्लेख गर्दै थापाले निरन्तर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, मधेशप्रति आफ्नो राजनीतिक यात्राको अर्थ स्पष्ट पार्दै उनले सोचविचार गरेर नै मधेश झरेको बताए।
“मेरो परिवार पहाडबाट काठमाडौं आएको हो। पहाडको पीडा, काठमाडौंका राम्रो–नराम्रो पक्ष दुवै बुझेको छु। अहिले सम्पूर्ण नेपालको प्रतिनिधि बन्न मधेश आएको हुँ,” उनले भने।
थापाले आफू विगतदेखि नै मधेशका मुद्दामा आवाज उठाउँदै आएको र त्यसका लागि निरन्तर संघर्ष गरिरहेको पनि जिकिर गरे।