Monday, March 2, 2026

बन्दसूचीबाट हटाइएकी टासी ल्हाजोमलाई रास्वपाको हुम्लाबाट टिकट, पार्टीभित्रै प्रश्न उठ्यो


काठमाडौं - विवादका कारण समानुपातिक (बन्दसूची) सूचीबाट हटाइएकी टासी ल्हाजोम अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रत्यक्ष उम्मेदवार बनेकी छन्। रास्वपाले उनलाई हुम्ला निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको हो।

यसअघि टासी रास्वपाको बन्दसूचीमा आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा रहेकी थिइन्। उक्त सूची कायम रहेको भए उनको संसद प्रवेश लगभग सुनिश्चित थियो। तर, उनीमाथि उठेका विभिन्न विवादलाई कारण देखाउँदै पार्टीले बन्दसूचीबाट हटाउने निर्णय गरेको थियो।

पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै टासीले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी थिइन् र कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी थिइन्। कानुनअनुसार बन्दसूचीमा राखिएको उम्मेदवारको नाम स्वेच्छाले पार्टीले हटाउन नमिल्ने भएकाले टासीको पक्ष कानुनी रूपमा बलियो देखिन्थ्यो। उनी रास्वपाको प्राइमरी निर्वाचन प्रक्रियामा समेत सहभागी भइसकेकी थिइन्।

टासीमाथि ‘फ्रि तिब्बत’ अभियानमा संलग्न रहेको र उनको नेपाली नागरिकतामाथि शंका गरिएको जस्ता आरोप लाग्दै आएका छन्। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले मन्त्री बनाउने तयारी गर्दा पनि यिनै आरोपका कारण प्रक्रिया रोकिएको थियो। रास्वपाले बन्दसूचीमा राखेपछि चिनियाँ पक्षबाट समेत चासो देखाइएको दाबी गरिएको छ।

बन्दसूचीबाट हटाइएपछि टासीले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी असन्तुष्टि व्यक्त गरेकी थिइन्। यसैबीच, हुम्लाबाट आएका रास्वपाका कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना समेत दिएका थिए। अन्ततः पार्टीले उनलाई हुम्लाबाट प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपाका एक नेताले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै नेतृत्वले दोहोरो मापदण्ड अपनाएको टिप्पणी गरे। उनले भने, “समानुपातिकतर्फ विवादित ठहरिने व्यक्ति प्रत्यक्षमा कसरी उपयुक्त हुन्छ ?”

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like