- by समाचार कक्ष
- Mar 06, 2025
नेपालगञ्ज - बाँकेमा निर्वाचन आचारसंहिता पालनामा कडाइका साथ अनुगमन सुरु भएको छ। निर्वाचन आयोगले गठन गरेको अनुगमन समितिले बाँके निर्वाचन क्षेत्र नं २ र ३ बाट केही मौखिक उजुरी प्राप्त भएको जानकारी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीका अनुसार, विद्यालयमा कार्यक्रम सञ्चालन, पालिका वडाध्यक्षको प्रचार-प्रसार, र पालिकाको डोजर तथा टिपर प्रयोग गरी सडक ग्राभेल जस्ता उजुरी प्राप्त भएका थिए। उनले आचारसंहिताविपरीत भएका सबै काम रोकिएको र सम्बन्धित पक्षलाई सचेत गरिएको बताए।
अधिकृत खत्रीले भने, “हामी स्थलगत अनुगमन पनि गर्छौं, तर हाल सूचना र उजुरीका आधारमा आवश्यक कारबाही गर्दैछौं।”
अनुगमन समितिले आउँदो प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न जिल्लाभर आचारसंहिता पालना गर्न सबै पक्षसँग आग्रह गरेको छ।
निर्वाचन आयोगले बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारी खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृत नियुक्त गरेको छ। समितिका अनुसार निर्वाचन प्रचार-प्रसार फागुन ४ देखि १८ गतेसम्म मात्र कानुनी रूपमा गर्न पाइनेछ। आयोगले माघ ४ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू गरेको छ।