- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं। अघिल्लो चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्दा संघीयताविरुद्ध आलोचनात्मक दृष्टिकोण राखेका बालेन शाह (रास्वपा) अहिले मधेसबाट सुरु गरेको आफ्नो चुनावी अभियानमा संघीयताको पक्षधर बनेका छन्।
काठमाडौंमा मेयर उम्मेदवार हुँदा उनले प्रदेश संरचना आवश्यक नभएको बताउँदै मतदानको क्रममा प्रदेशसभा निर्वाचन बहिष्कार गरेका थिए। यस कदमले उनलाई काठमाडौंका मतदाताबीच लोकप्रिय बनाएको थियो। तर, मध्यावधि चुनावका लागि प्रधानमन्त्री उम्मेदवारको रूपमा मैदानमा उत्रिँदा बालेनले आफ्नो दृष्टिकोणमा पूर्ण परिवर्तन गरेका छन्।
बालेनले मधेसका मतदातालाई लक्षित गर्दै प्रदेश संरचना अझ बलियो बनाउनुपर्ने तर्क राखेका छन्। जनकपुरमा भाषण गर्दै उनले आफूलाई “मधेसी छौरा” भनेर चिनाएका छन्, जबकि काठमाडौंमा उनी आफ्नो मधेसी पहिचान लुकाउने प्रयासमा थिए।
बालेनले प्रदेश संरचना खर्चिलो नभएको दाबी गर्दै भने, “प्रदेश संरचनामा धेरै खर्च छैन। मन्त्री र सांसदको तलवले देश डुबाउँदैन।” उनले मधेस र झापाका मतदातालाई लक्षित गर्दै संघीयतामा आफ्नो नयाँ अडान प्रस्तुत गरेका छन्।
यस परिवर्तनसँगै बालेनको चुनावी रणनीतिले काठमाडौं र मधेसका मतदाताबीच फरक प्रभाव पार्नेछ भन्ने विश्लेषकहरूले बताएका छन्। संघीयताको अभ्यास असफल भएको र अलोकप्रिय रहेको धारणा भएका मतदातालाई यस कदमले कस्तो संदेश दिन्छ, त्यो भने अझै स्पष्ट छैन।
रास्वपा भित्र पनि संघीयतामा एकमत छैन। केही नेताहरु संघीयताको कडा पक्षधर छन् भने केही कडा विरोधी छन्। बालेनको हालको अडान मधेसमा भोट आकर्षित गर्ने रणनीतिक कदमको रूपमा देखिएको छ।