- by समाचार कक्ष
- Mar 06, 2025
नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै घिमिरेले वर्तमान संस्थापन पक्ष एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाउँदै त्यसले आगामी निर्वाचनमा पार्टीलाई थप कमजोर बनाउने चेतावनी दिए ।
उनले आफूहरूको उद्देश्य पार्टी विभाजन नभई सम्पूर्ण कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको स्पष्ट पारे । साथै, वर्तमान केन्द्रीय समितिको विस्तार प्रक्रियामाथि प्रश्न उठाउँदै नेतृत्वले आफू अनुकूल व्यक्तिहरूलाई मात्र अवसर दिएको आरोप लगाए ।
घिमिरेले पछिल्ला नियुक्तिहरूले पार्टीभित्र समावेशी भावना झल्काउन नसकेको टिप्पणी गर्दै “४६ प्रतिशत पक्षलाई बाहिर राखेर १०० प्रतिशतको कांग्रेस निर्माण हुन सक्दैन” भन्ने धारणा व्यक्त गरे ।
उनले विगतका निर्वाचन परिणाम स्मरण गराउँदै सीमित समूहलाई मात्र बोकेर अघि बढ्दा पार्टीले घाटा व्यहोरेको बताए । “स्वाभिमान बेचेर राजनीति गर्न सकिँदैन, सबैलाई साथमा लिएर जानु नेतृत्वको दायित्व हो,” उनले भने ।
नेता घिमिरेले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा थप खराब परिणाम आउन सक्ने चेतावनी दिँदै नेतृत्वलाई समयमै आत्मसमीक्षा गर्न आग्रह गरे ।
पार्टी एकताका लागि उनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) बीच अपनाएको एकताको मोडल अनुसरण गर्न सुझाव दिएका छन् । वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन तयारी समितिमा रूपान्तरण गरी सबै पक्षको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको धारणा छ ।
उनले संस्थापन पक्षलाई निषेधको राजनीति त्यागेर संवाद र सहमतिका आधारमा अघि बढ्न आग्रह गर्दै आफ्ना माग बेवास्ता भए वैकल्पिक निर्णय लिन बाध्य हुने सङ्केत समेत गरेका छन् ।