- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ५ माघ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका उम्मेदवारहरू आजै दिनभरिमा टुंग्याइने स्पष्ट पारेका छन्। सोमबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले उम्मेदवार छनोटलाई सकेसम्म उत्कृष्ट र सन्तुलित बनाउने प्रयास भइरहेको बताए।
सभापति थापाले पार्टीको आधिकारिक टिकट पाउने उम्मेदवारको पक्षमा सबै नेता-कार्यकर्ताले व्यक्तिगत असन्तुष्टि थाती राखेर एकताबद्ध रूपमा अभियानमा जुट्न आग्रह गरे। उनले निर्वाचनलाई पार्टीको साझा अभियानको रूपमा बुझ्न र मनमा कुनै गुनासो नराखी अघि बढ्न अपिल गरेका हुन्।
भिडियो सन्देशमा थापाले उम्मेदवार छनोट प्रक्रियाबारे आफ्ना धारणा पनि स्पष्ट पारे। उनका अनुसार उम्मेदवार छनोट केन्द्रबाट होइन, तल्लो तहका निर्वाचन क्षेत्रबाट हुनुपर्छ भन्ने पार्टीभित्रको प्रस्ताव भए पनि हाल पुरानै विधानअनुसार १६५ निर्वाचन क्षेत्रबाट सिफारिसहरू प्राप्त भइसकेका छन्। कतिपय स्थानमा सहमति जुटे पनि कतिपय क्षेत्रमा अझै विवाद कायमै रहेको उनले बताए।
पार्टी नेतृत्व सम्हालेलगत्तै निर्वाचन आयोग र कानुनी प्रक्रियामा समय खर्चिनुपरेको उल्लेख गर्दै थापाले असन्तुष्ट पक्षलाई पनि समेटेर अघि बढ्ने प्रयास गर्दा समयको चाप बढेको स्वीकार गरे। यद्यपि, नयाँ–पुरानो पुस्ताबीच सन्तुलन कायम गर्दै समावेशी र न्यायोचित निर्णय गर्न पार्टी नेतृत्वले अन्तिमसम्म प्रयास गरिरहेको उनको भनाइ छ।
समयको सीमितताका कारण केही अप्ठ्यारा अवस्था आए पनि आजै उम्मेदवार छनोटको प्रक्रिया टुंग्याइने उनले दोहोर्याए। थापाले भोलिदेखि सबै नेता–कार्यकर्ता आ-आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय भएर पार्टीको रूख चिह्न पाउने आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लाग्न आग्रह गरे।