मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

यातायात सम्बद्ध संघसंस्थाको निष्कर्ष- प्रहरी नियन्त्रणमा रहेको बेला आत्मदाह हुनु गम्भीर लापरबाही

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २२
7
0
यातायात सम्बद्ध संघसंस्थाको निष्कर्ष- प्रहरी नियन्त्रणमा रहेको बेला आत्मदाह हुनु गम्भीर लापरबाही
सारांश
असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बा. ५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाप्रति यातायात व्यवसाय...


असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बा. ५ ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाप्रति यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको सत्यतथ्य छानबिन, मृतक परिवारलाई राहत तथा उचित क्षतिपूर्तिसहित ९ बुँदे माग अघि सारेका छन्।

संघसंस्थाहरूका अनुसार मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि पुगेका बेला आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण आवागमन अवरुद्ध भएको थियो। त्यसपछि चालक दोङले हर्न बजाएपछि ट्राफिक प्रहरीले बस रोकी कागजात मागेको र कारबाही गर्न खोजेको उनीहरूको दाबी छ।

चालकले आफूबाट गल्ती नभएको बताएपछि विवाद भएको र यात्रुहरूलाई ओरालेर बसलाई करिब दुई घण्टा नियन्त्रणमा राखिएको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि बसलाई बग्गीखानातर्फ लैजान खोज्दा चालकले प्रतिवाद गरेको तथा ट्राफिक प्रहरीबाट भएको भनिएको मानसिक दबाब र हैरानीपछि उनले आत्मदाह प्रयास गरेको संघसंस्थाहरूको दाबी छ।

यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको अवस्थामा चालकले यस्तो कदम चाल्न पुगेको घटनालाई गम्भीर विषय भन्दै सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषी देखिएकामाथि कारबाही गर्न पनि माग गरेका छन्।

संघसंस्थाहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने तथा पूर्ण रूपमा जलेको बसका धनीलाई समेत क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

त्यस्तै, यातायात श्रमिकलाई श्रम ऐनअनुसार रोजगार सम्झौता गरी मात्र काममा लगाउने, सामाजिक सुरक्षामा आबद्ध गराउने तथा ट्राफिक प्रहरीबाट हुने भनिएको दुर्व्यवहार, हैरानी र झमेलाविरुद्ध २४ घण्टे हेल्पलाइन तथा द्रुत सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने माग राखिएको छ।

सडकमा ट्राफिक प्रहरीको व्यवहार र कार्यशैलीमाथि छानबिन गर्न, ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउन तथा सरोकारवालासहितको अनुगमन संयन्त्र निर्माण गर्न पनि उनीहरूले माग गरेका छन्। साथै, ट्राफिक प्रहरीलाई दिइएको तजबिजी अधिकारको सम्भावित दुरुपयोग रोक्न अधिकार प्रत्यायोजनलाई पुनर्व्यवस्थित गर्नुपर्ने माग छ।

मागहरू तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रूपमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिँदै ६ वटा महासंघ तथा संघका अध्यक्षहरू सम्मिलित संयुक्त संघर्ष समिति गठन गरिएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, नेपाल ट्रक यातायात महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमले हस्ताक्षर गरेका छन्।


साझा गर्नुहोस्:

सम्बन्धित समाचार