यस वर्षको बडादसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढेको छ। तर, लगातारका बाढीपहिरो, भासिएका सडक र क्षतिग्रस्त पुलका कारण दसैँ मनाउन घर जाने यात्रुहरूले सास्ती खेप्नुपरेको छ। विपत्तिका कारण कतिपय परिवार शोकमा छन् भने धेरैको दसैँको उल्लाससमेत प्रभावित भएको छ।
डेढ महिनाको अवधिमा देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ। भोटेकोशी, कालीगण्डकी, त्रिशूली र बुढीगण्डकी नदीमा आएको बाढीले जनधन, सडक तथा पुलमा क्षति पुर्याएको छ। कतिपय बस्तीको सडक सम्पर्क विच्छेद भएको छ भने केही स्थानमा झोलुङ्गे पुलसमेत बगाएपछि स्थानीय आवतजावतमा कठिनाइ भएको छ।
पृथ्वी राजमार्ग, बीपी राजमार्ग, पासाङ ल्हामु राजमार्ग, गल्छी–स्याफ्रुबेँसी सडक, अरनिको राजमार्ग, कान्ति लोकपथलगायतका सडकखण्ड बाढीपहिरोबाट प्रभावित भएका छन्। कतिपय स्थानमा अस्थायी डाइभर्सन र नयाँ ट्र्याक बनाएर यातायात सञ्चालन गरिएको भए पनि जोखिम कायमै रहेको सडक विभागले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी क्षेत्रमा सडक भासिएपछि यातायात सञ्चालन प्रभावित भएको थियो। मर्मतसम्भारका लागि सोमबार राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म राजमार्ग बन्द गर्ने सूचना प्रशासनले जारी गरेको थियो। यसले दसैँका लागि अग्रिम टिकट काटिसकेका यात्रु तथा यातायात व्यवसायीलाई थप समस्या परेको छ।
बीपी राजमार्गमा पनि रोशी खोलाले क्षति पुर्याएको करिब १३ किलोमिटर सडक पूर्ण रूपमा पुनर्निर्माण हुन सकेको छैन। विभिन्न स्थानमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिए पनि वर्षा हुँदा यात्रा थप कठिन हुने गरेको छ। कृष्णभीर क्षेत्रमा पनि पहिरोको जोखिम कायम रहेकाले वैकल्पिक सडक निर्माणको काम अघि बढाइएको छ।
यसैबीच, दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य बढेको छ। नयाँबसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्रै २ लाख ७ हजार २५१ यात्रु बाहिरिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न सवारीसाधनमार्फत ५२ हजार ८२७ यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने ४२ हजार ११४ यात्रु भित्रिएका छन्। फूलपातीसम्म यात्रुको चाप अझै बढ्न सक्ने अनुमान गरिएको छ।
बाढीपहिरोका कारण धादिङ, म्याग्दी, नवलपरासी पूर्व र मनाङका केही सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। कतिपय सडकमा ठूला सवारीसाधन सञ्चालन गर्नसमेत कठिनाइ रहेको छ।
सडकको अवस्था कमजोर भएका बेला यात्रुको हतारो र चालकको लापरबाहीले दुर्घटनाको जोखिम बढ्न सक्ने सरोकारवालाले बताएका छन्। चाडपर्वका बेला क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने र जथाभावी ओभरटेक गर्ने प्रवृत्तिले जोखिम थप बढाउने गरेको छ।
लगातारका विपत्तिले यस वर्षको दसैँलाई प्रभावित बनाएको छ। कतै आफन्त गुमाएका परिवार शोकमा छन् भने कतै घरबार गुमाएकाहरू सुरक्षित बासको खोजीमा छन्। यस्तो अवस्थामा यात्रुलाई सडकको अवस्था बुझेर यात्रा गर्न, ट्राफिक नियम पालना गर्न र जोखिमपूर्ण स्थानमा सावधानी अपनाउन आग्रह गरिएको छ।






