मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

विश्वका उत्कृष्ट सहरको सूचीमा न्यूयोर्क पहिलो, काठमाडौं ६८७औँ स्थानमा

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १८
5
0
विश्वका उत्कृष्ट सहरको सूचीमा न्यूयोर्क पहिलो, काठमाडौं ६८७औँ स्थानमा
सारांश
अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ। बेलायतको लन्डन दोस्रो र फ्रान्सको पे...


अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व सहर सूचकांकमा अमेरिकाको न्यूयोर्क पहिलो स्थानमा परेको छ। बेलायतको लन्डन दोस्रो र फ्रान्सको पेरिस तेस्रो स्थानमा छन्।

विश्वका १ हजार ठूला सहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच आधारमा मूल्यांकन गरेर समग्र सूची तयार गरिएको अक्सफोर्ड इकोनोमिक्सले जनाएको छ।

सूचकांकमा न्यूयोर्कले १०० अंक प्राप्त गरेको छ भने लन्डनले ९८.८ र पेरिसले ९३.४ अंक पाएका छन्। अमेरिकाको सियाटल चौथो, सान फ्रान्सिस्को पाँचौँ, आयरल्यान्डको डब्लिन छैटौँ र अमेरिकाको बोस्टन सातौँ स्थानमा छन्। सान होजे आठौँ, जापानको टोकियो नवौँ र स्विट्जरल्यान्डको ज्युरिख दशौँ स्थानमा रहेका छन्।

काठमाडौं कुन स्थानमा ?

नेपालको राजधानी काठमाडौं समग्र सूचीमा ६८७औँ स्थानमा रहेको छ। पाँचवटा सूचकमा काठमाडौंको स्थान फरक–फरक रहेको छ।

काठमाडौं अर्थतन्त्रमा ६७०औँ, मानवीय क्षमतामा ५६२औँ, जीवनस्तरमा ८४०औँ, वातावरणमा ६३९औँ र शासनमा ६३५औँ स्थानमा रहेको छ।

अक्सफोर्ड इकोनोमिक्सका अनुसार समग्र मूल्यांकनमा पाँचवटै आधारलाई जोडेर सहरको अवस्था मापन गरिएको हो। यसमा आर्थिक अवस्था, जनशक्ति, जीवनस्तर, वातावरण र शासनको समग्र प्रदर्शनलाई समेटिएको छ।

जीवनस्तरका लागि क्यानबेरा अगाडि

अस्ट्रेलियाको राजधानी क्यानबेरा जीवनस्तरका हिसाबले शीर्ष सहर बनेको छ। समग्र विश्व सहर सूचकांकमा भने क्यानबेरा ४५औँ स्थानमा रहेको छ।

जीवनस्तरको मूल्यांकनमा मानिसको आम्दानी, आम्दानीबीचको अन्तर, घरभाडा तथा आवास खर्च, औसत आयु, अपराधको अवस्था तथा मनोरञ्जन र सांस्कृतिक सुविधालगायत विषयलाई आधार बनाइएको छ।

अर्थतन्त्र सूचकमा अमेरिकाको प्रभाव

अर्थतन्त्र सूचकका शीर्ष आठमध्ये सात सहर अमेरिकाका रहेका छन्। लन्डन सातौँ स्थानमा रहँदा न्यूयोर्क, लस एन्जलस, सान होजे, सिएटल, सान फ्रान्सिस्को, डल्लास र वासिङ्टन शीर्ष स्थानमा रहेका छन्।

मानवीय पुँजीमा लन्डन पहिलो स्थानमा छ भने दुबई, टोकियो, रियाद, न्यूयोर्क, आबुधाबी, पेरिस र सेन्जेन त्यसपछि रहेका छन्।

वातावरण सूचकमा होनोलुलु पहिलो स्थानमा छ। फोर्टालेजा, बर्गेन, वेलिङ्टन, अराकाजु, सुभा, स्टकहोम र सान्ता क्रुज डे टेनेरिफे त्यसपछि रहेका छन्।

शासन सूचकमा कोपनहेगन पहिलो स्थानमा छ भने आर्हस, अकल्यान्ड, वेलिङ्टन, क्राइस्टचर्च, हेलसिन्की, टाम्पेरे र ओस्लो क्रमशः त्यसपछि रहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार