काठमाडौं। माथिल्लो त्रिशूली–३ए (UT3A) उद्धार अभियानमा सुरक्षाकर्मी र उद्धार टोलीसँगै पर्दापछाडि रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरू पनि छन्। तीमध्ये ओखलढुंगाका एक्स्काभेटर अपरेटर सुजन श्रेष्ठ एक हुन्।
उद्धारका क्रममा जोखिमपूर्ण भूगोलमा जान अन्य अपरेटरहरू हिच्किचाउँदा सुजन भने पछि हटेनन्। उनले जोखिम मोलेर एक्स्काभेटरलाई UT3A को फिल्डसम्म पुर्याए र प्रतिकूल मौसम तथा कठिन भूगोलका बीच दिनरात उद्धार अभियानमा खटिए।
अत्यन्तै सावधानी र सुझबुझका साथ एक्स्काभेटर सञ्चालन गर्दै उनले उद्धारका लागि आवश्यक ग्राउन्ड लेभलको काममा महत्वपूर्ण योगदान दिए। जोखिमपूर्ण अवस्थामा समेत उनको ध्यान उद्धार कार्यलाई अगाडि बढाउनेमै केन्द्रित रह्यो।
उद्धार अभियानमा अग्रमोर्चामा देखिने पात्रहरू चर्चामा आए पनि सुजनजस्ता पर्दापछाडि रहेर जोखिम मोलेर काम गर्ने प्राविधिक जनशक्तिको योगदान भने प्रायः ओझेलमा पर्ने गरेको छ।
उद्धार केवल आदेशले सम्भव हुँदैन। कठिन भूगोलमा पुगेर जोखिम उठाउने प्राविधिक जनशक्ति, दक्षता र साहसले मात्र अभियानलाई सफल बनाउन सहयोग गर्छ। त्यसैले सुजन श्रेष्ठजस्ता ग्राउन्ड लेभलमा खटिएका कर्मचारीको योगदानको उचित मूल्यांकन र सम्मान हुनुपर्ने आवाज उठेको छ।
UT3A उद्धार अभियानमा चुपचाप, निस्वार्थ र जोखिम मोलेर खटिएका सबै कर्मचारीको योगदान सम्झनु आवश्यक छ। किनकि इतिहासले ठूला नाम सम्झिए पनि ती उपलब्धिको पछाडि पसिना, सीप र साहस खर्चिने धेरै ‘नदेखिएका नायक’ हुन्छन्।





