दसैँका बेला उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकामा सुरु गरिएको सबै ब्रान्डका ग्यास सिलिन्डर साटफेर तथा बिक्री वितरणको व्यवस्था बुधबारसम्म मात्रै लागू हुने भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले बिहीबारदेखि नियमित रूपमा डिलरमार्फत नै ग्यास बिक्री वितरण सुरु गर्ने जनाएको छ। संघका अध्यक्ष दिवान चन्दका अनुसार बिहीबार र शुक्रबार डिलरमार्फत नियमित आपूर्ति गर्नुपर्ने भएकाले संयुक्त बिक्रीको व्यवस्था बुधबारसम्म मात्र कायम रहनेछ।
उद्योगीहरूले आइतबारदेखि जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सक्ने व्यवस्था गरेका थिए। सुरुमा ६ स्थानबाट बिक्री सुरु गरिएकोमा सोमबार थप पाँच स्थान तोकेर बिक्री केन्द्रको सङ्ख्या ११ पुर्याइएको थियो।
संघले बजारमा ग्यासको अभाव नरहेको र नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज रूपमा भइरहेको दाबी गरेको छ। अब नियमित डिलरमार्फत बिक्री हुने भएकाले उपभोक्तालाई आफ्नो नजिकको डिलरबाट ग्यास खरिद गर्न संघले आग्रह गरेको छ।
यद्यपि, संयुक्त बिक्रीका लागि तोकिएका ११ वटै केन्द्रमा उपभोक्ताको लामो लाइन लाग्दै आएको छ। नजिकका डिलरबाट ग्यास नपाउँदा विभिन्न बिक्री केन्द्रसम्म पुग्नुपर्ने बाध्यताले उपभोक्ताले थप सास्ती खेप्नुपरेको छ।






