नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले अघि बढाउन लागेको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै त्यसमा सहभागी नहुन नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
मंगलबार जारी अपिलमा देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा र केन्द्रीय समितिका निर्णयविपरीत एकपक्षीय रूपमा विशेष महाधिवेशन अघि बढाउन खोजिएको आरोप लगाएका छन्। कांग्रेसलाई कमजोर बनाउने प्रक्रिया अघि बढे आफू मुकदर्शक भएर नबस्ने उनको चेतावनी छ।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम फैसला नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने देउवाको दाबी छ। सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको अवस्थाले पनि विषयमा गम्भीर संवैधानिक तथा कानुनी प्रश्न रहेको उनले उल्लेख गरेका छन्।
देउवाले विशेष महाधिवेशन पक्षधरले कांग्रेसका अनुभवी नेतृत्व तथा बहुसंख्यक नेता–कार्यकर्तालाई बेवास्ता गर्दै अघि बढ्न खोजेको आरोप लगाएका छन्। यस्तो प्रवृत्तिले पार्टी निर्माणभन्दा कांग्रेसलाई थप कमजोर बनाउने उनको भनाइ छ।
विशेष महाधिवेशन किन आवश्यक पर्यो भन्ने प्रश्नको स्पष्ट जवाफ नेता–कार्यकर्ता र जनताले अझै नपाएको पनि देउवाले बताएका छन्। उनले पार्टीभित्रको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सहमति र सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
आफूलाई कुनै पद वा जिम्मेवारीको व्यक्तिगत लोभ नरहेको स्पष्ट पार्दै देउवाले पार्टी र राज्यले आफ्नो अनुभवको आवश्यकता महसुस गरे जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन्।
देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित १४औँ महाधिवेशनको सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको दाबी छ।
विशेष महाधिवेशन अघि बढाउने प्रयास भए त्यसको प्रतिवाद गर्ने संकेतसमेत देउवाले दिएका छन्।





