दाङ, १२ फागुन - निर्वाचनको संघारमै दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ठूलो हलचल देखिएको छ। पार्टीका ४७ जना संगठित सदस्यले औपचारिक रूपमा पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी (सोनाम) लाई समर्थन गर्ने घोषणा गरेका छन्।
नेकपाले दाङ–१ मा साविक एकीकृत समाजवादीका नेता मेटमणि चौधरीलाई आधिकारिक उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनी नेकपाकै बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
पार्टीको आधिकारिक लाइनविपरीत स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको आरोपमा नेकपाले कारबाही प्रक्रिया अघि बढाएपछि पूर्वमाओवादी पृष्ठभूमिका नेता–कार्यकर्ताहरूले देउखुरीस्थित मौरीघाटमा पत्रकार सम्मेलन आयोजना गर्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्। राजीनामा दिएका नेताहरूले अब स्वतन्त्र उम्मेदवार कुलबहादुर केसीको पक्षमा सक्रिय चुनावी अभियानमा होमिने स्पष्ट पारेका छन्।
निर्वाचनको ठीक अघि ठूलो संख्यामा पूर्वमाओवादी समूहका सदस्यहरूले पार्टी छोडेपछि नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरीको चुनावी समीकरण प्रभावित हुने आकलन गरिएको छ।
दाङ–१ मा यसपटक नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा एमालेका रेवतिरमण शर्मा घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।





