नारायणी नदीको भीषण बाढीले बगाएर पुलको पिलरमा अड्किएको राइनो क्रुजसिपलाई तीनवटा क्रेनको सहायताले निकाल्न थालिएको छ।
प्रशासनका अनुसार क्रुजलाई सकेसम्म क्रेनको सहायताले तानेर गैंडाकोटतर्फको किनारमा लैजाने प्रयास भइरहेको छ। होटल रिभर क्राउन अगाडिबाट बाढीले बगाएको क्रुज पुलको गैंडाकोटतर्फको पिलरमा अड्किएको थियो।
तीन तले क्रुज पुलको पिलरमा अड्किएपछि पुलमै क्षति पुग्ने जोखिम बढेको थियो। क्रुजको तौल ७० टनभन्दा बढी रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार क्रुजलाई रुखमा बाँध्न प्रयोग गरिएका दुईवटा २० एमएमका टुचिन ठूलो बाढीका कारण चुँडिएपछि क्रुज बगेर पुलसम्म पुगेको हो।





