काठमाडौं-खाडी क्षेत्रमा तनाव बढ्दै जाँदा साउदी अरेबियामाथि ड्रोन आक्रमणको श्रृंखला रोकिएको छैन। शुक्रबार बिहानैदेखि गरिएको आक्रमणमा साउदी हवाई प्रतिरक्षाले २२ वटा ड्रोन खसालेर नष्ट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
साउदी रक्षा मन्त्रालयका अनुसार तीमध्ये अधिकांश ड्रोन देशको पूर्वी प्रान्तस्थित प्रमुख तेल प्रशोधन केन्द्रहरूतर्फ लक्षित थिए। साथै, उत्तरी प्रान्त अल जौफमा समेत एउटा ड्रोन रोकेर नष्ट गरिएको जनाएको छ।
यसैबीच, कुवेत र संयुक्त अरब इमिरेट्सले पनि क्षेप्यास्त्र तथा ड्रोन खतरासँग जुधिरहेको बताएका छन्। बहराइनको आन्तरिक मन्त्रालयले इरानी आक्रमणका कारण एक गोदाममा आगलागी भएको जानकारी दिएको छ।
लाल सागर क्षेत्रमा रहेको साउदी तेल प्रशोधन केन्द्रमा ड्रोन प्रहार र कुवेतका विभिन्न स्थानमा आगलागी भएको घटनाको भोलिपल्टै आक्रमण थप तीव्र बनेको हो।
उता, इरानले आफ्नो दक्षिण पार्स ग्यास क्षेत्रमा भएको इजरायली हवाई आक्रमणको जवाफस्वरूप कतारस्थित ठूलो प्राकृतिक ग्यास क्षेत्रलाई निशाना बनाएको बताइएको छ।
फेब्रुअरी २८ यता साउदी अरेबियामाथि गरिएका ड्रोन आक्रमणको संख्या ५०० नाघिसकेको छ। साउदी वायु प्रतिरक्षाले सोही अवधिमा ४२ वटा ब्यालिस्टिक र सात वटा क्रूज क्षेप्यास्त्र समेत अवरोध गरेको जनाएको छ।





