मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाका चार योजना: धार्मिक पर्यटनदेखि व्यापार र लगानीसम्म प्राथमिकता

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
51
0
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाका चार योजना: धार्मिक पर्यटनदेखि व्यापार र लगानीसम्म प्राथमिकता
सारांश

श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझे...

श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्न चार प्रमुख योजना अघि सारेकी छन्।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो चारवर्षे कार्ययोजना प्रस्तुत गर्दै झाले पर्यटन तथा हवाई सम्पर्क विस्तार, रामायण सर्किट, बौद्ध सम्पदाको प्रवर्द्धन तथा व्यापार र लगानी विस्तारलाई प्राथमिकतामा राखेकी हुन्।

झाले श्रीलंकाली बौद्ध तीर्थयात्रीलाई लुम्बिनी र कपिलवस्तुमा आकर्षित गर्ने योजना अघि सारेकी छन्। यसका लागि दुई देशबीच सिधा वा चार्टर उडान सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने तथा सरकारी र निजी क्षेत्रसँग समन्वय गर्ने उनको प्रस्ताव छ। सीमित हवाई सम्पर्क र महँगो हवाई भाडालाई पर्यटन प्रवर्द्धनका चुनौतीका रूपमा उनले उल्लेख गरेकी छन्।

त्यस्तै, जनकपुरको रामायण परम्परालाई श्रीलंकाका रामायणसँग सम्बन्धित स्थलहरूसँग जोडेर साझा धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना पनि उनले प्रस्तुत गरेकी छन्। संयुक्त पर्यटन प्याकेज निर्माण र सांस्कृतिक आदानप्रदानमार्फत दुवै देशको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उनको लक्ष्य छ।

झाको तेस्रो प्राथमिकतामा बौद्ध सम्पदाको प्रचारप्रसार र धार्मिक पर्यटन विकास रहेको छ। नेपालका लुम्बिनी र कपिलवस्तुलाई श्रीलंकाली पर्यटकमाझ आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने योजना उनले अघि सारेकी छन्।

चौथो योजनाअन्तर्गत व्यापार तथा लगानी प्रवर्द्धन, निजी क्षेत्रबीच सहकार्य र श्रीलंकामा रहेका नेपाली नागरिकको हित संरक्षणलाई समेटिएको छ। व्यापार मञ्च, लगानी प्रवर्द्धन तथा शैक्षिक र सांस्कृतिक आदानप्रदानमार्फत द्विपक्षीय सम्बन्धलाई थप परिणाममुखी बनाउने उनको भनाइ छ।

बैठकमा झाले नेपाल र श्रीलंकाबीच सन् १९५७ अप्रिल १ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरिन्। बुद्ध दर्शन, धर्म, संस्कृति र साझा सभ्यतामा आधारित सम्बन्धलाई आर्थिक तथा संस्थागत सहकार्यमा विस्तार गर्नुपर्नेमा उनले जोड दिइन्।

नेपालको परराष्ट्र नीतिअनुसार राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै झाले सांसदहरूबाट प्राप्त सुझावका आधारमा आफ्नो प्रारम्भिक कार्ययोजनालाई थप परिष्कृत र कार्यान्वयनयोग्य बनाउने बताएकी छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार