नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारलाई सत्तामा सधैँ रहिरहने भ्रमबाट मुक्त हुन सुझाव दिएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता परिवर्तन भइरहने बताए। उनले कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रम नपाल्न सरकारलाई आग्रह गरे।
पुनले सरकारको दम्भी, अहंकारी र धम्कीपूर्ण शैली त्यागेर विनम्र बन्न तथा राजनीतिक रूपमा सबैको अस्तित्व स्वीकार गर्नुपर्ने बताए।
उनले चुनावअघि ‘पैसा नहुनेले पढ्न पाउँछ’ भन्ने प्रतिबद्धता व्यक्त गरिए पनि सरकारमा पुगेपछि स्वास्थ्य, शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर लगाएर जनतामाथि आर्थिक भार थपिएको आरोप लगाए।
जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगले बुझाएका प्रतिवेदन तत्काल सार्वजनिक गरी तिनका सिफारिस कार्यान्वयन गर्न पनि पुनले माग गरे।
त्यस्तै, रसुवा र नुवाकोटका दुर्गम तथा अति प्रभावित बस्तीमा सडक, पुल र सञ्चार सम्पर्कको अभावका कारण राहत पुग्न नसकेको उनले बताए। राज्यको उपस्थिति ‘आकाश र काठमाडौंमा मात्र देखियो’ भन्ने जनआक्रोशप्रति सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।





