झापा। नेकपा एमाले का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्ट प्रवृत्तिले परिस्थिति उपयोग गर्न खोजेको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदातासामु प्रतिबद्धता सार्वजनिक गर्दै ओलीले चर्का र देखावटी नाराले दीर्घकालीन समाधान नदिने स्पष्ट पारे। उनका अनुसार यस्ता प्रवृत्तिसँग न त स्पष्ट दर्शन छ, न नीति र कार्यक्रम—केवल क्षणिक लोकप्रियताका लागि गरिने प्रचार मात्रै हो।
सामाजिक सञ्जाल र विद्युतीय सञ्चार माध्यममार्फत फैलाइने तथ्यहीन तथा भ्रामक सामग्रीले सर्वसाधारणमा भ्रम सिर्जना गरिरहेको ओलीको भनाइ थियो। विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) को नियमनसम्बन्धी कानुनी व्यवस्था कमजोर हुँदा यसको दुरुपयोग बढेको र त्यसले जनमत प्रभावित पार्ने प्रयास भएको उनले उल्लेख गरे।
‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई नै मुलुकको दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत गर्दै ओलीले यसको विकल्प नभएको दाबी गरे। उनले एमाले जनआधारित पार्टी भएको उल्लेख गर्दै विगतका उपलब्धिको संरक्षण र अधुरा कार्य पूरा गर्ने जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गरे।
ओलीको भनाइलाई आगामी निर्वाचन सन्दर्भमा मतदातामाझ आफ्ना एजेन्डा स्पष्ट पार्ने प्रयासका रूपमा हेरिएको छ।





