संसद्को नयाँ भवनमा अस्थायी रूपमा सञ्चालनमा रहेको क्यान्टिन बन्द गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले मंगलबार प्रतिनिधिसभाको बैठकमै क्यान्टिनमा चिया, मम, चाउमिनलगायतका परिकारको मूल्यबारे प्रश्न उठाएपछि बुधबार अस्थायी क्यान्टिन बन्द गरिएको हो।
क्यान्टिनका कर्मचारी राजकाजी महर्जनका अनुसार अस्थायी संरचनामा रहेको क्यान्टिन वरिष्ठ व्यवस्थापनको निर्णयअनुसार बुधबारदेखि बन्द गरिएको हो। उनका अनुसार सिंहदरबारभित्र साविकको स्थानबाट सञ्चालन हुँदै आएको क्यान्टिन भने बन्द गरिएको छैन।
महर्जनले सांसद सुनारले संसद्मा उल्लेख गरेको मूल्यमा सत्यता नभएको दाबी गरेका छन्। उनका अनुसार क्यान्टिनमा तोकिएको मेनु र मूल्यअनुसार नै सेवा दिइएको थियो र तोकिएको दरभन्दा बाहिर गएर शुल्क नलिइएको उनको भनाइ छ।
सांसद सुनारले मंगलबार संसद् बैठकमा नयाँ भवनको बरण्डामा सञ्चालन गरिएको क्यान्टिनको मूल्यप्रति प्रश्न उठाएका थिए। उनले कालो चियाको १ सय रुपैयाँ, दूध चियाको २ सय रुपैयाँ, ममको ३ सय रुपैयाँ, चाउमिनको ४ सय रुपैयाँ र पाउरोटीको ५ सय रुपैयाँ पर्ने दाबी गर्दै क्यान्टिनबारे प्रश्न गरेका थिए।
उनले संसद् भवनको बरण्डामा ‘फाइभस्टार होटल’ जस्तो क्यान्टिन राखिएको भन्दै त्यसलाई हटाउनुपर्ने मागसमेत गरेका थिए।
सांसदको प्रश्नपछि अस्थायी संरचनामा रहेको क्यान्टिन बन्द गरिए पनि अब कहिले पुनः सञ्चालन हुन्छ वा त्यसको व्यवस्थापनमा के परिवर्तन हुन्छ भन्ने विषयमा सञ्चालक पक्षले स्पष्ट जानकारी दिएको छैन।





