मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

रेश्मिका परियार हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई अदालतबाट सफाइ

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २२
5
0
रेश्मिका परियार हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई अदालतबाट सफाइ
सारांश
खोटाङ जिल्ला अदालतले रेश्मिका परियारको हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सफाइ दिएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६...


खोटाङ जिल्ला अदालतले रेश्मिका परियारको हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सफाइ दिएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका बतासेका हेमन परियार, दीपक राई र दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीका दीपक श्रेष्ठलाई अदालतले सफाइ दिएको हो।

जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले असोज ५ गते तीनै जनालाई सफाइ दिएको हो। जिल्ला अदालतका श्रेस्तेदार रामचन्द्र मण्डलका अनुसार उनीहरूविरुद्ध दोष प्रमाणित नभएपछि सफाइ दिइएको हो।

रेश्मिका सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत थिइन्। २०८२ भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबीच पर्ने मार्से सामुदायिक वनमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

यस घटनामा १५/१६ वर्षका एक किशोर भने दोषी ठहर भइसकेका छन् र हाल सजाय भुक्तान गरिरहेका छन्। १८ वर्षभन्दा कम उमेर भएकाले उनको नाम सार्वजनिक गरिएको छैन।

पीडित पक्षले भने रेश्मिकाको बलात्कारपछि हत्या घटनामा ती किशोरबाहेक अन्य तीन जनाको समेत संलग्नता रहेको दाबी गर्दै आएका छन्। उनीहरूले थप अनुसन्धान र पक्राउको माग गर्दै उच्च अदालत ओखलढुंगामा किटानी जाहेरीसमेत दिएका थिए।

उच्च अदालतको आदेशपछि प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूलाई अदालतले सफाइ दिएपछि पीडित परिवार तथा दलित अधिकारकर्मीले विरोध जनाएका छन्।

रेश्मिकाको घटनालाई लिएर पीडित परिवार र अधिकारकर्मीहरूले यसअघि माइतीघर मण्डलासहित विभिन्न स्थानमा प्रदर्शन गर्दै निष्पक्ष अनुसन्धान र न्यायको माग गरेका थिए। अदालतको पछिल्लो फैसलापछि जिल्ला अदालत परिसरमा समेत नाराबाजी भएको बताइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार