काठमाडौं। प्रतिनिधिसभाको बुधबार बसेको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सभामुखद्वारा प्रस्तुत प्रस्तावमा गत भदौ १० गते आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति संसद्ले शोक व्यक्त गरेको हो।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्रमा ठूलो क्षति पुगेको प्रस्तावमा उल्लेख छ। घटनामा स्वदेशी तथा विदेशी नागरिकसमेत बेपत्ता भएको र ठूलो संख्यामा मानवीय क्षति भएको जनाइएको छ।
प्रतिनिधिसभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीका कारण घरबारविहीन नागरिकको तत्काल उचित व्यवस्थापन र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।
संसद्को यो निर्णयले विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा प्रभावित नागरिकको सुरक्षालाई तत्काल प्राथमिकतामा राख्नुपर्ने आवश्यकतालाई समेत जोड दिएको छ।





