रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यअन्तर्गत हालसम्म १ हजार १२७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज बिहान ८ बजेसम्मको तथ्याङ्क हो।
फेला परेका शवमध्ये ३१ जना बालक, ४५ जना बालिका, २२७ जना महिला र ३९७ जना पुरुष रहेका छन्। यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अङ्गसमेत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार १ हजार ११३ शवको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ शव परिवारलाई हस्तान्तरण गरिएको छ। अझै ९११ शवको पहिचान खुल्न सकेको छैन।
बाढीपछि बेपत्ता हुनेको संख्या पनि ठूलो छ। प्रहरीको तथ्याङ्कअनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन्। यसबाहेक १ हजार ३५० जनाको बारेमा फोनमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या थप परिवर्तन हुन सक्ने प्रहरीले जनाएको छ।





