मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ

रसुवा सडकखण्डमा पुनः बाढीपहिरोको प्रकोप, चीनसँगको व्यापारिक नाका पूर्ण अवरुद्ध

स
समाचार कक्ष
२०२५ अगस्ट १४
4
0
रसुवा सडकखण्डमा पुनः बाढीपहिरोको प्रकोप, चीनसँगको व्यापारिक नाका पूर्ण अवरुद्ध
सारांश
२९ साउन, काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढी र पहिरोले रसुवाको प्रमुख सडकखण्डहरूमा पुनः ठूलो क्षति पुर्‍याएको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–...

२९ साउन, काठमाडौं । निरन्तर वर्षासँगै आएको बाढी र पहिरोले रसुवाको प्रमुख सडकखण्डहरूमा पुनः ठूलो क्षति पुर्‍याएको छ। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डका विभिन्न स्थानमा पहिरो र बाढीले सडक भत्काउँदा नेपाल–चीन व्यापारिक नाका पूर्णरूपमा अवरुद्ध भएको छ।

२४ असारमा आएको बाढीले पहिले नै क्षति पुर्‍याएको यो सडकखण्ड साउन १४ गतेको बाढीले थप प्रभावित बनाएको थियो। मर्मत कार्य जारी रहँदा हिजो र आजको वर्षाले पुनः सडक भासिएको हो।

रेडियो लाङटाङका अनुसार उत्तरगया गाउँपालिका–५ स्थित नौबिसे पेट्रोल पम्प नजिकैको करिब १०० मिटर पक्की सडक कटान भएको छ। सडक बग्दा स्थानीय प्रशासनिक कार्यालय, बस्ती तथा विद्युत आयोजनासँगको सम्पर्क टुटेको छ। उक्त क्षेत्रमा दुई घर र पेट्रोल पम्पको संरचना उच्च जोखिममा छन्।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले सडकका विभिन्न खण्डमा क्षति भएको पुष्टि गर्दै चीनसँगको नाका क्षेत्रतर्फको सम्पर्क पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए।

बुधबार रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारीहरूको टोलीले क्षति क्षेत्रको अनुगमन गरेको थियो। त्यसपछि मर्मत कार्य अघि बढाउन जिम्मेवारी बाँडफाँट गरिएको छ।

निर्णय अनुसार, उत्तरगया गाउँपालिकाले आवश्यक जनशक्ति, ट्रिपर तथा निर्माण सामग्रीको व्यवस्था गर्नेछ भने गल्छी–त्रिशूली–स्याफ्रुबेसी सडक आयोजनाले ग्याबिन, ज्याला, प्राविधिक निरीक्षण तथा उपकरण उपलब्ध गराउनेछ। माथिल्लो त्रिशूली थ्री बी जलविद्युत परियोजनाले लोडरमार्फत माटो र ढुंगा हटाउने कार्यमा सहयोग गर्नेछ। यस्तै, माथिल्लो त्रिशूली–१ आयोजनाले स्काभेटर, क्रेन तथा प्राविधिक सहयोग प्रदान गर्नेछ। सुरक्षा तथा अवरोध हटाउने कार्य रसुवा र नुवाकोट सुरक्षा समितिले सम्हाल्नेछन्।

उता, सिम्ले–भोर्ले सडकखण्ड अन्तर्गत डडारे खोलाको छेउमा गएको ठूलो पहिरोले कालिका गाउँपालिका–३ डिलखेत बस्तीलाई समेत जोखिममा पारेको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना जारी गर्दै भोटेकोशी, त्रिशूली, लाङटाङ खोला, चिलिमे खोला र अन्य नदी/खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी र पहिरोको जोखिम अझै कायमै रहेको बताइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार