सुर्खेत, २९ चैत्र - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
प्रदेश खेलकुद विकास परिषद्को बैठकमा बोल्दै उनले रङ्गशाला निर्माण छिटो टुङ्ग्याई आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरे।
रङ्गशालाका लागि आवश्यक बजेट विनियोजन भइसकेको उल्लेख गर्दै उनले अब कुनै पनि बहानामा निर्माण कार्य ढिलाइ हुन नहुने स्पष्ट पारे। निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई बाँकी काम छिटो पूरा गरी समयमै हस्तान्तरणको वातावरण बनाउन सक्रिय हुन उनले निर्देशन दिए।
मुख्यमन्त्री कँडेलले निर्धारित कार्यतालिका अनुसार काम अघि बढाउन र बाँकी कार्य तोकिएको समयसीमाभित्र सम्पन्न गर्न जोड दिए। साथै, निर्माण प्रक्रियामा प्रभावकारी अनुगमन र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै जिम्मेवार निकायहरूलाई आफ्नो भूमिकाप्रति गम्भीर बन्न सचेत गराए।
उनले रङ्गशाला सम्पन्न भएपछि कर्णालीमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरे। खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउँदै उनले खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षण, आवश्यक पूर्वाधार विकास तथा प्रतियोगिताको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा जोड दिए।
आगामी राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका कामहरू समयमै सुनिश्चित गर्न उनले निर्देशन दिएका छन्।
साथै, कर्णालीका विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणका लागि स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेश गर्न सम्बन्धित निकायलाई उनले निर्देशन दिए।
हाल बजेट निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै उनले खेलकुद क्षेत्रका योजना समावेश गर्न आग्रह गरे। चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै उपलब्ध स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए।
यसैगरी, परिषद्बाट अनुमोदन भएका कार्यक्रम मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पार्दै उनले कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने बताए।





