सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै महिलाले शिशु जन्माएको घटनामा सरकारले ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनालाई सरकारले गम्भीर रूपमा लिएको बताइन्। घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको र उनीहरूमाथि छानबिन भइरहेको उनले जानकारी दिइन्।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगेको छ। स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजङ्ग रायमाझी पनि टोलीमा सहभागी छन्।
यसैगरी, घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत छुट्टै छानबिन समिति गठन गरिएको मन्त्री मेहताले बताइन्।
अस्पतालले मन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरणअनुसार, भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिताकुमारी पासवान अस्पताल पुगेकी थिइन्। प्रारम्भिक जाँचपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको अस्पतालको दाबी छ।
आवश्यक स्वास्थ्य परीक्षणका लागि सुझाव दिइएपछि बिरामी र कुरुवा शय्यामा नरही अस्पतालबाट बाहिरिएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको अस्पतालको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्रसूति भएपछि आमा र नवजात शिशुलाई पुनः प्रसूति वार्डमा ल्याइएको तथा स्वास्थ्यकर्मीले आवश्यक उपचार र स्याहारका लागि अस्पतालमै बस्न आग्रह गरेको अस्पतालको भनाइ छ।
मन्त्री मेहताले मातृ तथा नवजात शिशुको जीवन रक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको बताउँदै छानबिनबाट दोषी देखिए कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता जनाइन्।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन मन्त्रालयले अस्पताललाई कडा रूपमा सचेत गराएको पनि उनले संसद्लाई जानकारी दिइन्।





