साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध परेको उजुरीबारे जिल्ला प्रहरी कार्यालय ललितपुरले संसदीय सुनुवाइ समितिलाई विवरण बुझाएको छ।
असोज २६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनारविरुद्ध परेका उजुरीको तथ्य जाँच गर्ने निर्णय गरेको थियो। उजुरीकर्तासँग छलफल गरेपछि समितिले घटनासम्बन्धी प्रमाण र ललितपुर प्रहरीमा भएको मिलापत्रको विवरण मागेको थियो।
सुनारसँग विवाहेत्तर सम्बन्ध र पटक–पटक यातना दिएको आरोप लगाउँदै एक महिलाकी साथीले समितिमा उजुरी दिएकी थिइन्। सुनारबाट हिंसामा परेको दाबी गरेकी महिलासँग पनि समितिले उजुरीकर्तामार्फत प्रत्यक्ष संवाद गरेको थियो।
समितिले महिलाको भनाइ सुनेपछि घटनासँग सम्बन्धित कागजात ललितपुर प्रहरीसँग मागेको थियो। प्रहरीले उपलब्ध गराएको विवरणअनुसार, सम्बन्धित महिलाले २०७५ माघ २९ गते तत्कालीन महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमाथि २०७५ फागुन १ गते मिलापत्र भएको प्रहरी अभिलेखमा उल्लेख छ।
प्रहरीले मिलापत्रसम्बन्धी कागजातको एक पृष्ठको प्रमाणित प्रतिलिपिसमेत संसदीय सुनुवाइ समितिमा पठाएको जनाएको छ।
सुनारविरुद्धको उजुरीलाई समितिले विशेष निगरानीमा राखेर हेरिरहेको छ। प्रहरीबाट प्राप्त विवरणपछि समितिले यस विषयमा थप के निर्णय गर्छ भन्ने स्पष्ट भइसकेको छैन।






